काठमाडौं - आज भएको उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादवले ३० हजार ३२८ मत ल्याएर विजयी भएका छन् । जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका यादव देशको तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन् ।
उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए । एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मतदान गरे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाइन् ।
यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मत पाइन् । तर, उनले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् ।
निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।
को हुन् उपराष्ट्रपतिमा निर्वाचित यादव ?
२०२७ साउन ९ गते बारा बसबरियामा जन्मिएका यादवले स्नातकसम्मको अध्ययन गरेका छन्। यादवकी श्रीमती चम्पादेवी यादव, दुई छोरा र एक छोरी छन् । उनका पिता प्रसाद राय र आमा सहवा देवीको मृत्यु भइसकेको छ। विक्रम सम्बत् २०४८ सालमा शिक्षण पेशामा प्रवेश गरेका रामसहायको राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट भएको हो । उनी २०४६ देखि २०५२ सालसम्म सरस्वती नवयुवक क्लबको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य भए ।
नेपाल सदभावना पार्टीको चौथो महाधिवेशन प्रतिनिधिका रुपमा खटिएका यादव २०५७ सालमा गिरफ्तारीमा परेका थिए। वि.सं. २०५९ मा मधेसी जनअधिकार फोरम, नेपालमा आवद्ध भएका उनी २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजक बने । २०६० सालमा मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य बनेका उनी २०६२÷०६३ को जनआन्दोलमा सक्रिय भएर लागे। आन्दोलनका क्रममा उनी काठमाडौंबाट गिरफ्तार परेका थिए ।
२०६२/०६३ सालको मधेस जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारीमा पनि उनले काम गरे । २०६४ सालको पहिलो संविधानसभाको सदस्य निर्वाचित भएका उनी पहिलो संविधानसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यका रुपमा काम गरे। २०७२ साल मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको उनी महासचिव बने ।
वि.सं २०७२ मधेस आन्दोलनमा निषेधाज्ञा तोड्ने क्रममा प्रहरीको लाठी प्रहारबाट सख्त घाईते भएका उनी वि.सं. २०७४ सालमा प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
विसं २०७५ सालमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव, वि.सं. २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य बने । २०७८ सालमा वन तथा वातावरण मन्त्री बनेका यादव २०७९ को प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका हुन् ।


0 comment