काठमाडौं - जनता समाजवादी पार्टी बाराका जिल्ला अध्यक्ष अजय पटेल किर्ते अभियोगमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलिले बारा जिल्ला परवानिपुर नगरपालिका-५ निवासी ४५ बर्षिय पटेललाई किर्ते कागज बनाई मालपोतको कर्मचारिको मिलेमतोमा आफुलाई मोहि कायम गराउन खोजेको आरोपमा पक्राउ गरेको हो ।

बारा जिल्लाको साविक बहुअरी गाउँपालिका वडा नम्बर ६ को कित्ता नम्बर ४१ को ६ बिगाह, वडा नम्बर ८ को कित्ता नम्बर १३४ को ३ बिगाह र कित्ता नम्बर १४८०, १०७८ र १४७९ गरि १८ कठ्ठा र वडा नम्बरको ५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरि १० बिगाह १५ कठ्ठा क्षेत्रफल रहेको ६० करोड भन्दा बढी रकम्को जग्गाको नक्कली कागज बनाई हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा प्रहरीले पटेललाई पक्राउ गरेको हो ।

पटेलले काठमाडौं बिशालनगर निवासि बिजय मणि दीक्षितको नाममा रहेको उक्त जग्गामा जसपाको झण्डा नै गाडि कब्जामा लिएर पोखरी खनि माछा पालन व्यवसाय चलाउँदै वार्षिक लाखौं कमाउँदै आईरहेको थिए ।

जग्गा धनी दीक्षितले आफ्नो उक्त जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन बाराको बहुअरी-६ वडा कार्यालय पुग्दा वडा अध्यक्ष रामेस्वर कलवारले सिफारिस दिन आनकानी गरेका थिए। पछि जग्गा खरिद गर्न भनी हेर्न जाँदा पटेलसहित आएको समुहले खरीदकर्तालाई भौतिक रुपमा आक्रमण गरि घाइते बनाएका थिए। पटेलले विगत १३ बर्ष देखि जग्गा धनि दिक्षितलाई जग्गामा आए काट्छु भन्दै आफ्नो जग्गमा जान समेत रोक लगाएका थिए।

हाल पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।