काठमाडौं – तत्कालीन माओवादीले थालेको शसस्त्र युद्धमा लागेको भन्दै २०५७ सालमा सुर्खेतको घुमखहरेबाट पक्राउ परेकी भेरी नगरपालिका–६ की राधिका चन्दले सरकारसँग क्षतिपूर्ति माग गरेकी छन् । 

तत्कालीन माओवादीले थालेको शसस्त्र युद्धमा लागेको भन्दै २०५७ सालमा सुर्खेतको घुमखहरेबाट उनलाई पक्राउ गरी तत्कालीन सरकारले राज्यविरुद्धको अपराधमा मुद्दा चलाएर जेल चलान गरेको थियो ।

हिरासत र कारागारभित्र आफूले भोग्नुपरेको पीडालाई सम्झेर राधिका अहिले पनि बेला–बेलामा झस्किने तथा बर्बराउने गर्छिन् । राधिका यतिबेला न्यायको खोजीमा अदालतको ढोका ढक्ढक्याउने संकल्प गरेकी छन् । जाहेरीवालाको मागदाबीलाई अदालतले खारेजी गरेको आधिकारिक प्रमाणमा रहेर राधिकाले बिनाकसूर आफूले ८ वर्ष जेल जीवन बिताएकाले क्षतिपूर्ति सरकारले दिनुपर्ने दाबी गरेकी हुन् ।

८ वर्षपछि २०६५ सालमा जिल्ला अदालत सुर्खेतले उनलाई सफाइ दिएको छ । अदालतको आदेशले जेलमुक्त भएको १४ वर्ष बित्तिसक्दा पनि राधिकालाई १० दिनसम्म प्रहरीले हिरासतमा राखेर दिएको चरम यातनाको पीडाले अहिले पनि सताउने गरेको छ । त्यतिबेला राधिका १३ वर्षकी मात्र थिइन् । ८ वर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागारमा भोग्नुपरेको पीडाले अहिले पनि सताउने गरेको उनको भनाइ छ । 

२०५७ सालमा आफू १३ वर्षको नाबालिका भएको बताउँदै राधिकाले १३ वर्षको नाबालिकालाई राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ को दफा ३, २ र ३, ४ ले गरेको व्यवस्था अनुसारको सजायको मागदावी राखी जेल सजाय दिन पाइने कुनै पनि कानुनी सुविधा नभएको उनले जिकिर गरेकी छन् । जेलमुक्त भए लगत्तै हालको भेरी नगरपालिका–६ गंगटियाका युद्धवीर सिंहसँग विवाह गरेकी थिइन्। उनका एक छोरी र एक छोरा छन् । उनको परिवार अहिले भेरी नगरपालिका–३ मा अस्थायी बसोबास गर्दै आएको छ । अहिले राधिका ३५ वर्षकी भइन् ।  

प्रहरी सहायक निरीक्षक सुरेन्द्र केसीको जाहेरीले राज्यविरुद्धको अपराध मुद्दा लगाइसकेपछि ८ वर्ष २ महिना ५ दिन कारागारमा बन्दी बनाएर उनलाई अनुसन्धान गरेको थियो ।