काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ । राखेपले बिहीबार सार्वजनिक सूचना जारी गर्दै एन्फामाथिको निलम्बन तथा प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । यससँगै एन्फाको प्रशासनिक तथा आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको छ । राखेपको प्रतिबन्धपछि एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले समेत प्रतिबन्ध लगाएको थियो ।

राखेपले प्रतिबन्ध फुकुवासम्बन्धी निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत गराएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री समित पोखरेल एएफसीको बैठकमा सहभागी हुन थाइल्यान्ड पुगेका बेला राखेपले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । मन्त्री पोखरेलले थाइल्यान्डमा एएफसी तथा फिफाका प्रतिनिधिसँग भेट गर्ने कार्यक्रम छ । सोही भेटमा एन्फामाथिको प्रतिबन्ध फुकुवाबारे जानकारी गराउने बताइएको छ ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै निर्णयबारे जानकारी गराएका छन् । पत्रमा एन्फाले गत ५ अप्रिल २०२६ मा पठाएको अनुरोध तथा यसअघि राखेपले जारी गरेका विभिन्न पत्रलाई आधार मानेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको उल्लेख छ । एन्फाका प्रवक्ता सुरेश शाहले राखेपबाट निलम्बन फुकुवासम्बन्धी पत्र प्राप्त भएको पुष्टि गरेका छन् ।

राखेपले गत माघमा एन्फामाथि प्रशासनिक तथा आर्थिक प्रतिबन्ध लगाएपछि फिफाले पनि एन्फालाई निलम्बन गरेको थियो । राखेपको पछिल्लो निर्णयसँगै एन्फामाथि फिफाले लगाएको प्रतिबन्धसमेत फुकुवा हुने अपेक्षा गरिएको छ ।