काठमाडौं - मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याएकोमा अस्पतालले तीन जनाको मृत्यु भएको बताएको हो । हेटौंडा अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरूष रहेका छन् ।
मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा ७ जना घाइते भएका छन् । अस्पतालमा उपचाररत उनीहरूको अवस्था मध्यम रहेको छ ।
हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो आज बिहान साढे ८ बजेको समयमा त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । सुमो घुम्तीमा अनियन्त्रित भइ सडकबाट १० मिटर तल भैसे खोलामा खसेर दुर्घटना भएको बताइएको छ ।
यसअघि कात्तिक २६ गते भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।


0 comment