काठमाडौं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकलविरुद्धको विशेष अभियानलाई तीव्रता दिएको छ ।
रातको समयमा चर्को आवाज निकालेर तीव्र गतिमा मोटरसाइकल चलाउने गरेको सर्वससाधारणको गुनासो बढेपनि ट्राफिक कार्यालयले विशेष अभियानलाई तीव्रता दिएको हो ।
गत बुधबारदेखि मंगलबारसम्मको एक हप्ताको अवधिमा ४ सय १ वटा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए । ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीले यसलाई एउटा अभियानको रूपमा सञ्चालन गरिरहेको उनले बताए ।
स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने सवारीसाधनहरूको जरिवाना यातायात व्यवस्था कार्यालयले गर्ने भएकाले ट्राफिक प्रहरीले चिट काटेर सवारीसाधनलाई नियन्त्रणमा लिई शोरुमको अवस्थामा फर्काउनका लागि विभागमा नै पठाउने गरेको काफ्लेले बताए ।
सडकमा कुनै पनि नागरिकलाई ध्वनि प्रदूषणका कारण दुर्घटना वा स्वास्थ्यमा कुनै जोखिम नहोस् र अनावश्यक रूपमा ध्वनि प्रदूषण खेप्नु नपरोस् भन्ने उदेश्यले विशेष अभियानलाई तीव्रता दिइएको ट्राफिक कार्यालयले जनाएको छ ।


0 comment