काठमाडौं - सरकारले चाडपर्वको समयमा यात्रुको सुविधा र सडक सुरक्षा व्यवस्थापनलाई सहज बनाउन विविध निर्णयहरू गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अध्यक्षतामा शनिबार बसेको बैठकले काठमाडौँ उपत्यकाबाट बाहिर जाने सार्वजनिक सवारीसाधनहरूलाई नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने निर्णय गरेको छ। यो निर्णयले दशैंमा सवारीसाधनहरु बाहिरिन र प्रवेशमा सहजता आाउने विश्वास गरिएको छ।
यसैबीच, मन्त्री घिसिङले बाढी र पहिरोले अवरुद्ध भएका सडकहरूको तत्काल सञ्चालनमा ल्याउने र सडकका अवस्थाबारे यात्रुलाई चौबीसै घण्टा जानकारी दिने व्यवस्था मिलाउने निर्देशन पनि दिए। साथै, सार्वजनिक यातायातको सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त बनाउन नेपाल प्रहरीलाई गस्ती र प्रहरी सङ्ख्या थप गर्ने निर्देश गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको छ।
दाउन्ने खण्डमा दसैं अवधिभर ठूला सवारीसाधनहरू सञ्चालन गर्न नपाइने
बैठकमा, बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिभर ठूला सवारीसाधनहरू (१२ चक्के र सोभन्दा माथिका) सञ्चालन नगर्न अनुरोध गरिएको छ, भने खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनहरूको आवागमनलाई निरन्तरता दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ।
सडक विभागलाई मुलुकभरका सडकहरूको अवस्था सुधार गर्न र २४ घण्टा ‘फोकल पर्सन’को व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। यसका साथै, सार्वजनिक सूचना जारी गरेर आम नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
यस बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरू उपस्थित थिए।


0 comment