काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाभित्र रहेका पानी फ्याक्ट्रीको अनुगमन गरेको छ । नगरपालिकाका मेयर/उपमेयरको नेतृत्वमा बिहीबार निस्केको प्राविधिकसहितको टोलीले नगरपालिकामा रहेका सबैजसो पानी फ्याक्ट्रीको अनुगमन गरेको छ ।
उनीहरुले पानीको गुणस्तर, जारको अवस्था र सरसफाईप्रति विशेष चासो राख्दै अनुगमन गरे । पानीकै कारण विभिन्न रोग लाग्ने हुँदा नगरभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनका क्रममा केही फ्याक्ट्रीले पानी भर्ने र सरसफाईमा लापरबाही गरेको देखिए पनि पानीको गुणस्तर भने पिउन योग्न नै रहेको उपमेयर शान्ता थापाले जानकारी दिइन् ।
त्यस क्रममा पानीको गुणस्तरसँगै ती फ्याक्ट्रीहरुमा बालश्रम शोषण भए/ नभएको बारेमा समेत जानकारी लिइएको थियो । ‘सबल, सक्षम, सुशासनयुक्त विकासमुखी स्थानीय सरकार’को मूल नारालाई आत्मसात गर्दै कागेश्वरी मनोहरा नगरपालिका जनताको सेवामा तल्लिन रहेको छ । यो नगरपालिका धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा पनि सुसम्पन्न रहेको छ ।


0 comment