काठमाडौं - जेनजी आन्दोलनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर १० कैदीबन्दीको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाँके, रामेछाप र धादिङस्थित विभिन्न सुधारगृह तथा कारागारहरूबाट भाग्ने प्रयास गर्दा उनीहरू मारिएका हुन्।
बालसुधार गृह नौबस्तामा मृत्यु हुनेहरू:
अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय दिनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, कैलालीका १९ वर्षीय जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्रीको जेल तोड्ने प्रयासमा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका हुन्।
रामेछाप कारागारबाट भाग्ने क्रममा मृत्यु हुनेहरू:
मोरङका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र धनुषाकै ४० वर्षीय मनोज महतोको रामेछाप जिल्ला कारागारबाट भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको जनाइएको छ।
धादिङ कारागारमा घटना:
धादिङ कारागार तोड्ने क्रममा सेनाले चलाएको गोली लागेर धादिङको बेनिघाटका ६१ वर्षीय जितबहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्रबहादुर डालाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


0 comment