काठमाडौं । गौशाला चोक नियम विपरीत बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू भत्काउन महानगरपालिकाले बिहान चार वटा डोजर प्रयोग गरेको थियोे । गौशालातर्फबाट एयरपोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका आज पहिलो दिन ६ वटा घरहरू भत्काइएको हो ।
गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन डोजरसहित महानगर प्रहरीको टोली पुगेपछि मारवाडी सेवा समितिका र स्थानीय सडकमा उत्रिँदा गौशालको स्थिति तनाब ग्रस्त बनेको हो ।
अदालतको आदेशपछि माडवाडी सेवा समितिले सञ्चालन गर्दै आइरहेको गौशाला धर्मशाला खाली गराउन र फुटपाथ मिचिएको संरचना भत्काउन नगर प्रहरी गौशाला पुगेको थियो । अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको थियो । स्थानीयले अदालतको आदेशविपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको आरोपसहित आक्रोश व्यक्त गरे । महानगरले डोजर चलाए त्यहीँ ढुंगामुढा गर्ने धम्की स्थानीयले दिए ।
काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिले चलाउँदै आएको पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको जमिनमा मोहियानी हक नलाग्ने फैसला गरिसकेको छ । त्यसपछि महानगरको टोली मारवाडी सेवा समितिले ओगेटको त्यो संरचना खाली गराउन पुगेको थियो । स्थानीय र माडवाडी समितिको अवरोधबीच महानगरले डोजर चलाएको छ ।
पशुपति विकास कोषले धर्मशाला सञ्चालन गराउने जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको थियो । त्यसपहिले तत्कालीन संस्कृति मन्त्री सुदन किरातीको पालामा धर्मशाला मारवाडीबाट खोसिएको थियो।


0 comment