काठमाडौं — बालबालिका सम्बन्धी कानुन कार्यान्वयनमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले निकै सक्रियता देखाएको छ । समितिले बालबालिकासम्बन्धी संवैधानिक हक र कानुनी अधिकार कार्यान्वयनको मापन गर्ने भएको छ । यसका लागि स्थलगत अध्ययन, कार्यपालिका र न्यायपालिकासँग कानुन कार्यान्वयन र त्यसको व्याख्याको समन्धमा प्रश्नोत्तर तथा सरोकारवालासँग छलफल गर्ने मोडालिटी तय गरेको छ । संविधानको धारा ३९ मा बालबालिकाको हक सम्बन्धी व्यवस्था छ ।
कानुन कार्यान्वयन गर्न बालबालिका सम्बन्धी ऐन २०७५ र बालबालिका सम्बन्धी नियमावली २०७८ बनिसकेको छ ।
संविधान जारी भएको एक दशक हुन लाग्दा समेत बालबालिकाको हक कार्यान्वयन नभएको गुनासो सरोकारवालाहरुले गरिरहेका छन । सरोकारवालाको गुनासोलाई मध्यनजर गरी बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन गर्न लागिएको सभापति दाहालले जानकारी दिनुभएको छ ।
सभापति दाहालका अनुसार बालबालिकाको सरोकार भएको विषयमा परिवार, समाज, विद्यालय, सार्वजनिक निकाय वा संस्थामा उनीहरुको सहभागिताको अवस्थालाई केन्द्रमा राखेर संविधानतः बालबालिकाको हकको कार्यान्वयनको समग्र अवस्थाबारे अध्ययन गरेर सरकारलाई सुझाव, सल्लाह र निर्देशन दिने हाम्रो लक्ष्य छ । समिति सभापति दाहाल भन्छिन्, ‘सबै बालबालिकाको जन्मदर्ता हुन नसकेको सुनिन्छ । त्यसको वास्तविकता पत्ता लगाउने प्रयास हाम्रो हुनेछ ।
विधायन व्यवस्थापन समितिले सर्वोच्च अदालतलाई नै प्रश्नोत्तरमा सहभागी गराएको छ । विधायन व्यवस्थापन समितिकी सभापति दाहाल भन्छिन्, ‘बाल सुधार गृहमा १८ वर्ष मुनिका बालबालिका मात्रै रहनु पर्ने हो तर, विद्यमान कानुनी व्यवस्थाले वयस्क समेत रहने हुँदा बालिबालिकाहरु विभिन्न खाले दुर्व्यवहारमा परेको पाइन्छ । यस सम्बन्धमा सर्वोच्च अदालतलाई नै प्रश्न सोधेका छौं ।’
सर्वोच्च अदालतलाई सोधिएको प्रश्नमा भनिएको छ, ‘बाल अनुकूल न्यायको हक कार्यान्वयन कसी भइरहेको छ ? बालसुधार गृहमा बस्ने बालबालिकाहरुको न्याय निरुपणको अवस्था के छ ? सुधार गृहमा बयस्कबाट बालबालिका हिंसामा परेका छन् । यससम्बन्धमा कसरी न्याय निरुपण हुने गरेको छ ?’संविधानमा असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने उल्लेख छ ।
बालबालिकाको हक विपरीतका कार्य कानून बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने संवैधानिक व्यवस्था छ ।
बालबालिका सम्बन्धी यी संवैधानिक हकको कार्यान्वयनको अवस्थाबारे विधायन व्यवस्थापन समितिले न्यायपालिका र कार्यापालिका दुवैलाई प्रश्न सोधेको छ ।
बालबालिका सम्बन्धी संबैधानिक व्यवस्था कार्यान्वयनमा विधायन व्यवस्थापन समितिको सक्रियताले सकरात्मक सन्देश दिएको छ ।


0 comment