काठमाडौँ – काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र विभिन्न श्रम लगायत जोखिममा रहेका बालबालिकाको उद्धार कार्यलाई तिब्र बनाएको छ । महानगरमा जुनसुकै क्षेत्रमा बालबालिका जोखिममा रहेको देखेमा पाइएमा खबर गर्न भन्दै महानगरले उद्धार तथा व्यवस्थापन कार्यलाई तिब्र बनाएको हो । महानगरपालिकाले मंगलबार र बुधबार मात्रै २ दिनमा १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरी अस्थायी संरक्षण गृहमा राखेको छ । मंगलबार वडा नंं १ मा रहेको खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षिय बालकलाई उद्धार गरेको हो । बुधबार वडा नं. २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थाका राखिएका १० जना बालक र १ जना बालिका सबैको उद्धार गरेको हो । 
उद्धारमा खटिनु भएका बाल संरक्षण अधिकृत सुनिता शाहका अनुसार उद्धार भएका बालबालिकाको पारिवारिक लेखाजोखा र मनोविमर्श गरिनेछ र ‘लेखाजोखा र मनोविमर्शपछि प्राप्त हुने मनोसामाजिक प्रतिवेदनका आधारमा पारिवारिक पुनर्मिलन तथा वैकल्पिक हेरचाहको प्रबन्धमध्ये कुनमा लैजाने भन्ने निर्णय हुनेछ ।’ 
महानगरपालिकाका बाल कल्याण अधिकारी शान्ता पहाडीका अनुसार बालबालिका राखिएको ठाउँमा उद्धार कार्यदलका संयोजक रसला तण्डुकारको नेतृत्वमा एउटा टोली र गैरकानुनी गतिविधि सञ्चालन गर्ने संस्थाको अनुगमनका लागि कार्यदलका सदस्य धिरज जोशीको नेतृत्वमा अर्को टोली एकै पटक परिचालन गरियो र टोलीमा राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास सेवा (१०४) महानगर नगर प्रहरी बल र नेपाल प्रहरीको पनि सहभागिता रहेको बताउनु भयो । 

महानगरपालिकाले पहिलो चरणमा उद्धार गरेका बालबालिकाहरुको घटना व्यवस्थापन गरिसकेपछि दोस्रो चरणको बाल उद्धार कार्यक्रममा महानगरपालिकाको हटलाइन नम्बर ११८० मा प्राप्त भएका सूचनाका आधारमा काम थालेको महानगरले बतायो । पहिलो चरणमा २४ जना बालक र २७ जना बालिका गरी ५१ जना बालबालिकाको उद्धार भएको थियो । उद्धार गरिएकामध्ये परिवारमा फर्काउन सम्भव भएकालाई परिवारमा पुनःस्थापना गरिएको छ भने परिवारमा फर्काउँदा सर्वाेत्तम हित नहुने देखिएका बालबालिकालाई शिक्षा, स्वास्थ्यउपचार सहित दीर्घकालीन स्याहारको समेत प्रबन्ध गरिएको छ । उद्धार गरिएका ५१ जनामध्ये २४ जना बालबालिकालाई परिवारमा पुनःस्थापना गरिएको बाल कल्याण अधिकारी पहाडीले बताउनु भयो । 
महानगरपालिकाले गएको वर्ष बाल संरक्षण तथा बालबालिका सम्बन्धी कार्यविधि, २०८० जारी गरेपछि बालबालिकाका सवालमा काम तिब्र रुपमा गरिरहेको छ ।  बालबालिका लक्षित विभिन्न कार्यक्रम तथा बाल संरक्षण प्रणाली सुदृढीकरणमा काम भइरहेको छ । ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारा सहित बालबालिका लक्षित कार्यक्रमका लागि यस आर्थिक वर्षमा सामाजिक विकास विभाग अन्तर्गत ४ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको महानगरले जनाएको छ । 
कार्यविधिअनुसार उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा महानगर बाल अधिकार समितिको गठन भएको र समितिअन्तर्गत बाल उद्धार कार्यदल र घटना व्यवस्थापन उपसमिति गठन गरी बाल कल्याण अधिकारीको समेत व्यवस्था महानगरले गरेको छ । महानगरले समाजसेवी तथा बालमनोविज्ञको नियुक्ति समेत गरेको छ । महानगरपालिका आफैले अस्थायी संरक्षण केन्द्र स्थापना गर्ने, महानगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयहरूमा बाल संरक्षण शिक्षक तोक्ने, वडा स्तरमा बाल अधिकार समितिहरू गठन गर्ने, बाल क्लब तथा सञ्जालहरू गठन गर्ने लगायतका कार्यक्रम महानगरमा रहेको नगरले जनाएको छ । महानगरले जस्तै बालबालिकाका क्षेत्रमा अन्य पालिकाहरुले काम गर्ने हो भने बाल संरक्षणको सवाल सम्बोधन हुन कुनै बेर नलाग्ने देखिन्छ ।