काठमाडौं - दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आज बिहान सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका- ३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका- ४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका- ६ का १९ वर्षीय सुरेश खड्का छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पाँच जना सवार रहेको जिप सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर छ।
सल्यानको कपुरकोट गाउँपालिका- ६ की ३१ वर्षीया टीकादेवी वली, उनका १३ र १० वर्षका छोराहरू महेश र जीवन गम्भीर घाइते रहेको र उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको छ ।
घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अलिन ठकुरीले जानकारी दिनुभयो ।


0 comment