काठमाडौं - सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चल्ने स्रोतले बताएको छ ।

जिल्ला अदालत कास्कीमा विहीबार म्याद थप्न लैजाँदा सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान आवश्यक रहेको इजलासमा जानकारी गराएको जनाइएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले माघ २२ गते दिएको सहकारी ठगी सम्बन्धी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले हिरासतमा लिएको हो ।

सहकारी ठगी र संगठित अपराधसँगै लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनका आधारमा पनि अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्त शर्माले जानकारी दिएका छन् । तर लामिछानेलाई किन संगठित अपराध मुद्दामा अनुसन्धान थालियो भन्नेबारे बताउन नचाहेको प्रहरी स्रोतको भनाई छ ।

लामिछानेविरूद्ध अनुसन्धान र बयानमा लागेकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सहकारी ठगी र संगठित अपराध मुद्दामा प्राप्त प्रमाणका आधारमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएपछि सोही अनुसार अगाडी बढेको बताइन ।

उनले भनिन्, सहकारी ठगीका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा हामीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने निर्णय गरेका हौं,’ ‘रवि लामिछानेको बैंक स्टेटमेन्ट कारोबार हेर्दा अस्वाभाविक देखिएको छ । यत्तिका पैसा कहाँबाट आयो र कहाँ गयो भनेर सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान थालेका छौं ।

गोर्खा मिडिया प्रालिमा लामिछानेले १५ प्रतिशत सेयर खरिद गर्दा कहाँबाट पैसा आएको थियो र उक्त सेयर बिक्री गरेको पैसा कहाँ राख्नुभयो भनेर पनि अनुसन्धान हुनु पर्ने सवालमा काफ्लेको भनाइ छ । करोडौं कारोबार गरेको देखिएको छ ।

१ करोड ८० लाखमा गोर्खा मिडियाको १५ प्रतिशत सेयर किनेको देखिन्छ । त्यो पैसा कहाँबाट आयो र सेयर बेचेको पैसा कहाँ राख्नुभयो भनेर हेर्नुपर्ने हुन्छ । मुख्यत आपराधिक लाभबाट प्राप्त भएको सम्पत्ति हो कि होइन भनेर हेर्न सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान गर्नुपर्ने देखियो,’ काफ्लेको भनाई छ ।

रवि लामिछानेले टेलिभिजनको १५ प्रतिशत संस्थापक सेयर २०७७ चैतमा लिएका थिए । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट पैसा गएको एक सातापछि उनले टेलिभिजनको सेयर पाएका थिए। टेलिभिजनको सेयर होल्डर ढिलो भए पनि कम्पनीको संयुक्त बैंक खाता भने असोजमै खोलिएको पाइएको थियो ।

‘कागजात हेर्दा के देखिन्छ भने रवि लामिछानेले चैतमा सेयर खरिद गरे तर ग्लोबल आइएमई बैंकमा कम्पनीको संयुक्त खाता जिबी राई, छविलाल जोशी र रवि लामिछानेको संयुक्त नाममा असोजमै खोलिएको भेटियो । बैंक खाता खोल्दा नै हामी स्वच्छ लगानी गरेर कम्पनी चलाउँछौं । आपराधिक लगानी गर्दैर्नौं भनेर कागजातमा हस्ताक्षर गर्नुपर्ने कानुन छ । यसबारे म जानकार छैन भनेर छुटकारा पाइँदैन,’ काफ्लेले भनाइ छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाता जिबी, रवि र छवि गरी तीन जनाको नाममा खोलिए पनि एक जनाको हस्ताक्षरले कारोबार चल्ने बनाएको भेटियो । कम्पनीबाट अधिकांश रकम लामिछानेको एकल हस्ताक्षरबाट खर्च भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएको पाइन्छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय र कास्की प्रहरीले पनि बैंक स्टेटमेन्ट हेरेर गोर्खा मिडियामा कुन कुन स्रोतबाट पैसा आयो र कहाँ गयो भनेर अनुसन्धान गरिरहेको हुनाले लामिछानेलाई एक पछि अर्को मुद्धाले समस्यामा पार्ने प्रष्ट देखिन्छ ।