काठमाडौँ । 
सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने अहिले प्रहरी हिरासतमा छन । प्रहरीले रविका बारेमा अनुसन्धान गरिरहेको छ । रविको पक्राउको विरुद्धमा रास्वपाका कार्यकर्ता आन्दोनमा छन । पोखरा केन्द्रित आन्दोलनलाई छोडेर रास्वपाले काठमाडौँ केन्द्रित आन्दोलन थालेकै दिन सहकारी पीडितहरूले समेत आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले मंसिर ५ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।
महासंघले अहिले आन्दोलन गर्नुपर्ने दुईवटा कारण रहेको जनाएको छ । पहिलो, सहकारी पीडितलाई मोहरा बनाएर पार्टीगत आन्दोलन गरिएको अभियानका संयोजक शुभलव केसी बताउँछन् । यसले वास्तविक पीडितको समस्यालाई कहिल्यै समाधान नगर्ने बरु झनै गिजोलिने उनको भनाइ छ ।
दोस्रो कारण चाहिँ सरकारले गरेका बैठकमा सहकारी पीडितको प्रतिनिधित्व नगरिनु रहेको महासंघले जनाएको छ । केही दिनअघि सहकारी विभागमा राष्ट्र बैंक र अन्य सरोकारवाला संस्थासहितको छलफलमा पीडितको प्रतिनिधित्व नभएकोमा महासंघले आपत्ति जनाएको छ ।
संयोजक केसी विगत १८ महिनादेखि आफूहरूले सहकारी पीडितको पक्षमा काम गर्दै आए पनि यसलाई समाधान गर्ने कार्यमा पीडित पक्षकै प्रतिनिधित्व नहुँदा वास्तविक पीडितले न्याय पाउने सम्भावना थप कमजोर बनेको बताउँछन् । त्यसैले तिहार र छठपछि आन्दोलन सुरु गरिने उनको भनाइ
यद्यपि अन्य राजनीतिक दलले गरेको आन्दोलनसँग आफ्नो कुनै सरोकार नभएको केसी बताउँछन् । आफूहरु मुडभेडको सोचमा नभएको तर अहिले सहकारी ठगीमा नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्छ भन्नेमा रहेको समेत केसीले बताए । रास्वपाका नेता आफ्नो सभापतिलाई सहकारी ठगीमा सरकारले गिरप्तार गर्नु राजनैतिक प्रतिशोध मात्रै हो भनिरहेका छन भने रास्वपाले राजनैतिक चरित्र देखाउन नसकेको भनेर चौतर्फी रुपमा सडकमा भिड उतार्न नहुने पक्षमा आलोचना पनि भइरहेको छ । न्याय भिडले दिने होइन न्यायलयले दिने हो भन्ने कुराले रास्वपाको आलोचना भइरहेको हो ।