काठमाडौं - सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ । 

सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग बगाएको थियो ।

अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले एक सय  मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडक आवागमन अवरुद्ध भएको हो ।
सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ ।

पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ ।

पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको छ ।