काठमाडौं - जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलिले अवैध सुन सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने बर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने बर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन्।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खडकाको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ किलोभन्दा बढी सुनसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका, वडा नम्बर १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालकहरुबाट उक्त सुन बरामद भएको हो।
उनिहरुमाथि शंका लागि निजहरुको शरीर तथा स्कुटर समेतको खानतलासी गर्दा निजहरुले आफ्नो शरीरको बिभिन्न भागमा लुकाई ल्याईएको बिल बिजक नभएको अवैध भन्सार छलिका सुनको बिस्कुटको आकारको ८ थान तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको छ।
पछिल्लो बजार भाउ अनुसार झण्डै साँढे ११ करोड रकम बराबरको सुन फेला पारेको हुँदा उक्त समान सहित निजहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको प्रहरी उपरीक्षक बिश्वोराज खड्काले जानकारी दिनु भयो।


0 comment