काठमाडौं - नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता जनाएका छन् । 

नेपाल उसु महासङ्घ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युनानमा भएको भेटमा युनान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरूले यस्तो प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारीले जानकारी दिनुभयो । 

छलफलमा नेपाल उसु महासङ्घका उपाध्यक्ष अभिषेकविक्रम शाह र  उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जन पनि सहभागी हुनुहुन्थ्यो । 

छलफल पश्चात् नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ ।

समझदारीपत्रमा उसु महासङ्घका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गर्नुभएको छ । 

एघार बुँदे समझदारीपत्रमा प्रशिक्षकहरूको आदानप्रदान गर्ने, नेपाली खेलाडीहरूलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एशोसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरूमा सहभागिता गराउने तथा खेल जागरण अभियान समेत सञ्चालन गर्ने सहमति भएको छ ।