काठमाडौं - सरकारले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउन सफल खेलाडी पलेशा गोवर्धनलाई  कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख रुपियाँ नै दिने घोषणा गर्नुभएको हो । 

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । 

उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताउनुभयो । नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ ।

पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ ।प्रधानमन्त्री ओलीले भन्नुभयो यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुराना कीतिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुझाएर बस्नु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।

सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।