काठमाडौं - एन्फा महिला लिग फुटबल अन्तर्गत बागमती प्रदेश आज विजयी भएको छ। सुदूरपश्चिम प्रदेशलाई ५-१ गोलले हराउँदै बागमतीले पहिलो जित दर्ता गरेको हो ।

 सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले तीन अंक जोडेको छ।

बागमतीका लागि अस्मिता खवासले ह्याट्रिक गरिन् । यसैगरी, सहारा लिम्बु र आरती भुजेलले समान १-१ गोल गरे ।

सुदूरपश्चिकमका लागि तुलचा बाहोराले मात्र १ गोल गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको महिला लिगमा १० टोलीको सहभागिता छ।

पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् ।

लिगमा भोलि चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् भने अर्को खेलमा विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।