काठमाडौं - ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिले सम्म १३ लाख ६३ हजार सात सय रुपैयाँ सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्मको खेलहरू मार्फत उक्त रकम सङ्कलन भएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट छ लाख ५२ हजार आठ सय सङ्कलन भएको बताउनुभयो ।

यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा सात लाख १० हजार नौ सय रकम सङ्कलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति दुई सय तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा एक सय रुपैयाँ राखिएको थियो ।

फाइनल खेल यही भदौ १० गते सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर दुई सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ । 

समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट रु २० लाखसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्र सहित पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ नगद पुरस्कार पाउनेछन् ।

टिकट बिक्री बाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट पनि आर्थिक सहयोग सङ्कलन भइरहेको समितिले जनाएको छ ।