काठमाडौं - साफ यु-२० च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह बी का भारत र माल्दिभ्स खेल्दैछन् ।

समूह चरणको यो अन्तिम खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्को टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा एउटा समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछ ।

नेपाल समूह ए को विजेता बनेको छ । हिजो भएको खेलमा बङ्गलादेशलाई २- १ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । 

यो जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ । बङ्गलादेशको २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

यो समूहको श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।