काठमाडौं - दशरथ रंगशालाले फेरि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। 

फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ एएफसीले अनुमति दिएसंगै रंगशालाले पुन अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो ।
 
विभिन्न प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य ठानेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको हो।

एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भने पछि राखेपले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।

यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको छ।

दशरथ रंगशालाको खेल मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअफ अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च व्बाइज युनाइटेडबीच खेल हुने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिएपछि नेपालमा नै गत चैत्र ८ गते आयोजना हुनुपर्ने विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको नेपालले बहराइनको मैदानमा खेलेको थियो। 

जेठ २४ गते युएईसँगको खेल पनि साउदी अरबमा भएको थियो।