काठमाडौं - काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको खेलमा नेपालले उपाधि दाबेदार भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको हो। 

नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।

पहिलो सेटमा नेपालले सुरुआतीदेखि नै अग्रता लिएको छ। नेपालले सुरुमा २-० को अग्रता लिएको थियो। त्यसपछि लगातार अंक जोड्दै १५-९ मा पुर्‍यायो। त्यसपछि भारतले नेपाललाई भेटाउन सकेन र खेल २५-१८ ले गुमायो। 

दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्‍यो ।  खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।तर, तेस्रो सेटमा नेपालले सानदार पुनरागमन गर्‍यो। 

सुरुमै ५-३ को अग्रता लिएको नेपाललाई भारतले भेट्टाउन सकेन र २५-१७ ले खेल गुमायो। यो सँगै आजको खेल चौथो सेटमा धकेलिएको थियो। चौथो सेटमा भने एक समय १८-२० को स्थितिमा रहेको बेला लगातार गल्ती गर्दा भारतले फाइदा उठायो।  भारतले थप पाँच अंक जोड्दा नेपाल भने स्तब्ध बन्दै खेल १८-२५ ले गुमायो।

फाइनल तथा निर्णायक सेटमा पनि नेपालले सुरुआतदेखि नै दबाबमा राखेको थियो। तर, एक समय १३-१२ को स्थितिमा भारत पुगेपनि पुनरागमन भने गर्न सकेन र नेपाल १५-१३ ले विजयी भयो।

यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद सागको फाइनल दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।

काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंकाको टोली  सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।