काठमाडौं - नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनमा पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा आइतबार भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरियताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनले विश्व वरियतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे।

कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए। प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन्। प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन्। विश्व वरियतामा हात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन्।

त्यस्तै  पेरिस ओलम्पिक–२०२४ को टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन्। साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे।

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए। इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो। पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमा पारेका इब्राहिमले दोश्रो र तेश्रो जित्न समान ५–५ मिनेट लगाएका थिए। 
चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमा जिते। पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै इब्राहिमले जित हात पारेका थिए। बाँकी सेटको नतिजा भने इब्राहिमले सहजै आफ्नो पक्षमा पारे। हारसंगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन्।