काठमाडौं - एसीसी महिला एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग भिड्दैछ। श्रीलंकाको दाम्बुलास्थित रंगिरी दाम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आफ्नो पहिलो खेलमा यूएईको सामना गर्न लागेको हो। 

यो एसिया कपमा नेपाल भाग्यले सहभागी भएको हो। छनौट खेलमा मलेसियासँग पराजित भएपछि नेपालको एसिया कप तुहिएको थियो। तर, एसियन क्रिकेट काउन्सिलले ८ टिम सहभागी गराउने निर्णय गरेपछि नेपालसँगै थाइल्यान्डको भाग्य पनि चम्किएको थियो। छनौट खेलमा नेपाल मलेसियासँग र थाइल्यान्ड युएईसँग पराजित हुँदै बाहिरिएको थियो।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। नेपालले जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोली दुई हप्ता अगाडि नै श्रीलंका पुगेको थियो। श्रीलंकामा नेपालले श्रीलंकाको डेभलपमेन्ट स्क्वाडसँग तीन वटा अभ्यास खेल खेलेको थियो। पहिलो र दोस्रो अभ्यास खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा दुई रनको रोमाञ्चक जित निकालेको थियो। 

एसीसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसीसी महिला प्रिमियर कपको फाइनल खेलेका दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो। पछि मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो। योसँगै नेपाली महिला टोलीले तेस्रो पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो। नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । दुवै संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीमा सबनम राई, रुबिना क्षत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, डोली भट्ट, रोमा थापा, ममता चौधरी, किर्तिका मरासिनी र राजमती ऐरी छन्।