काठमाडौं - कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका करिब २ सय खेलाडीलाई आइतबार सम्मान गरेको छ। 

अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी नगदसहित सम्मानित भएका हुन्। साथै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका अगुवाहरूलाई पनि नगदसहित सम्मान गरिएको छ। 

खेलाडीहरूलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद र सम्मान पत्रले सम्मान गरिएको हो। स्वर्ण पदक विजेतालाई ५० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको थियो। पुरस्कारमा मात्रै लगभग ४० लाख रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ। 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)लगायतले खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रका अगुवालाई नगदसहित सम्मान पत्र प्रदान गरेका छन्।
 
खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने सन्तोष बानिया र मदन उप्रेतीलाई पनि नगदसहित सम्मान गरिएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको लोगो र वेभसाइट निःशुल्क निर्माण गर्ने विजयकुमार बस्नेतसमेत सम्मानित भएका छन्।  

बोर्डका सदस्यसचिव बस्नेतले खेलेर पनि गौरवका साथ बाँच्न सकिन्छ भन्ने कुरा स्थापित गर्न कोशी प्रदेश खेलकुद विकास बोर्ड लागि परेको बताए। उनले केही वर्षभित्रै खेलाडीलाई गौरवकासाथ सम्मानित रुपमा बाँच्नसक्ने अवस्था सृजना गरिने बताए।