काठमाडौं - स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ। 

सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो। योसँगै स्पेन चौथो पटक युरोकपको उपाधि जित्न सफल भएको छ। 

पहिलो हाफ गोलरहित बनेपनि दोस्रो हाफको सुरुवातमा नै स्पेनका लामिन यामालको पासमा निको विलियम्सले अग्रता दिलाएका हुन्। ७३ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै खेल १-१ को बराबरी बनाएका थिए।

तर खेलको ८६ औं मिनेटमा स्पेनका मिकेल ओयारजाबालले निर्णायक गोल गर्दै स्पेनलाई जिताउन सफल भएका हुन्।  इङ्ल्यान्ड भने लगातार दोस्रो युरो कपको फाइनलमा पराजित भएको छ।

युवा स्टार यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका १७ वर्षीय खेलाडी यामलले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन्।

युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए। यो संस्करणमा उनको सर्वाधिक असिस्ट हो। यामलले सेमिफाइनलमा फ्रान्सविरुद्धको खेलमा उत्कृष्ट गोल गर्दै स्पेनलाई फाइलमा पुर्‍याउन सफल भएका थिए।