काठमाडौं -  उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ। आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई पराजित गरेको हो। 

खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए। खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए। डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो।

१० खेलाडीमा सीमित कोलम्बियाले पूरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो। दोस्रो सेमिफाइनलको विजेता कोलम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइनलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो। उरुग्वेमाथिको सननसनीपूर्ण जितसँगै कोलम्बियाले २८ खेलको अपराजित यात्रालाई कायम राखेको छ।

कोलम्बियाले हालसम्म एकपटक मात्र कोपा–अमेरिकाको उपाधि चुमेको छ। कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि हात पारेको थियो।