काठमाडौं - आइसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। 

उत्तर अमेरिकाको  बारबाडोसस्थित केसिङ्टन रंगशालामा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि उपाधि जितेको हो। भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १६९ रनमात्र बनाउन सक्यो। 

दक्षिण अफ्रिकाका लागि हेइनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए। त्यस्तै क्विन्टन डीककले ३९ रन, ट्रिस्टन स्टबले ३१ र डेबिड मिल्लरले २१ रन बनाए। भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए। त्यस्तै अर्शदीप र जसप्रित बुमराहले २-२ विकेट र अक्सर पटेलले एक विकेट लिए। 

यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। त्यस्तै अक्सर पटेलले ४७ रन र शिभम दुबेले २५ रन बनाएका थिए। 

उपाधिसँगै रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका हुन् ।

खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले भने, 'यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्यो। म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।' यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्।

त्यस्तै भारतीय क्रिकेट टोली विश्व च्याम्पियन बनेपछि प्लेयर अफ द म्याच चुनिएका विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका हुन् । 

उनले भने, 'हामी यो कप उठाउन चाहन्थ्यौं। हामीले हारेको भए पनि मैले सन्या लिने घोषणा गर्ने थिएँ। अब अर्को पुस्तालाई पालो दिने समय आएको छ। टी-२० खेललाई अगाडि बढाउन लामो समय लाग्छ।'