काठमाडौं - भारतलाई हराउँदै अष्ट्रेलियाले छैटौंपटक आइसीसी एक दिवसीय विश्वकपको उपाधि कब्जा गरेको छ। 

अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा आयोजक भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया च्याम्पियन बनेको हो। 

टस जितेर पहिले फिल्डिङ रोजेको अष्ट्रेलियाविरुद्ध निर्धारित ५० ओभरको खेलमा भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ३ विकेटको क्षतिमा ४३ ओभरमै पूरा गरेको थियो। अष्ट्रेलियालाई च्याम्पियन बनाउन ट्राभिज हेडले शतकीय पारी खेलेका थिए। उनले १३७ रन बनाएर आउट भएका थिए। १२० बल खेलेका उनले १५ चौका र ४ छक्का प्रहार गरेका थिए।

त्यस्तै मार्नुसले अविजित अर्धशतकसहित ५८ रन र म्याक्स वेल २ रनमा अविजित रहे। त्यस्तै डेभिड वार्नर ७, मिचेल मार्स १५ र स्टिभ स्मिथ ४ रन बनाएर पेभेलियन फर्किएका थिए।

त्यसअघि भारतले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो। भारतका लागगि केएल राहुल र विराट कोहलीले अर्धशतक प्रहार गरे। राहुलले ६६ र विराटले ५४ रन बनाएर आउट भएका थिए। त्यस्तै कप्तान रोहित शर्माले ४७ रन बनाएका थिए। भारतका अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

समूहचरणको खेलमा अपराजित रहेको भारतले सेमिफाइनलमा न्युजील्यान्डलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। अष्ट्रेलियाले भने दक्षिण अफ्रिकालाई हराउँदै फाइनल पुगेको थियो। यसपटक भारतलाई बलियो दाबेदारको रूपमा हेरिए पनि तेस्रोपटक उपाधि जित्न भारत चुकेको छ। भारतले यसअघि १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो।

अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो।