काठमाडौं - हङकङमा जारी महिला टि-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापानलाई ६७ रनले पराजित गर्दै नेपाल विजयी भएको छ।

टस जितेर जापानले पहिले फिल्डिङ रोजेको जापानलाई निर्धारित २० ओभरमा नेपालले ११४ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा जापान ४६ रन बनाउँदै अल आउट भयो । 

जापानका लागि सेरिका सुमीले १३ रन र मेगा ओगावाले १७ रन बनाइन्। अन्यले दोहोरो रनको अंक बनाउन सकेनन्।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट, संगिता राईले ३ विकेट र पूजा महतो २ विकेट लिएकी हुन्। 

नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३८ रन बनाइन्। त्यसैगरी कप्तान इन्दु बर्माले ३१ बलमा २७ रन, काजल श्रेष्ठले ७ बलमा १५ रन, पूजा महतोले २९ बलमा १३ रन, सीता रानामगरले २० बलमा ९ रन र १ बलमा अस्मिना कर्मचार्यले १ रनको योगदान गरिन्।

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपाल र जापान अघिल्ला दुई खेलमा पराजित हुँदै जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् भने तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित ९ विकेटले पराजित भएको थियो। 

महिला टि–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्।