काठमाडौं – टी—२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा नेपाल छनोट भएको हो । सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरे ।

युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट गुमाएर भेट्टाएपछि नेपाल विश्वकपमा छनोट भएको थियो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको हो । विश्वकपमा छनोट भएपछि कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।

यो जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोलीले आगामी टी—२० विश्वकप खेल्न पाउने प्रावधान छ । टी—२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।