काठमाडौं – टी–२० विश्वकप एसिया छनोट फाइनलमा नेपालविरुद्ध ओमानले १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन बनाउँदै अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले दुई-दुई विकेट हात पारे । गुल्सन झा र अविनाष बोहराले पनि एक-एक विकेट लिए । सन्दीपले चार ओभरमा ३० रन खर्चिए भने सोमपालले चार ओभरमा १६ रन दिए । करणले चार ओभरमा ४३ रन खर्चिए । 

टी-२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । नेपालले यसअघि एक पटक टी-२० विश्वकप खेलेको छ । जारी छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमानले भने आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । चार अंकसहित तालिकामा नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटमा नेपालभन्दा ओमान अगाडि छ ।