काठमाडौं – टी–२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ। मंगलबार टियु मैदानमा भएको खेलमा नेपालले दोस्रो जित हात पारेको हो।

टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। मलेसियाका लागि साइद अजितले सर्वाधिक ६८ रन बनाए। उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै जुबइदीले २४, सर्विभनले १३ र विजय युनीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अकंकको रन जोड्न सकेनन्।

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो भने नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे।  ३४ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरेका थिए।

मलेसियासँगको खेलमा कुशल भुर्तेलले ४३ रन बनाए भने २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। आसिफ शेखले भने २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन बनाए। कप्तान रोहित पौडेल भने २ रनमै आउट भए। सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे।