काठमाडौं ः नेपाली टोली एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले साउदी अरबलाई ३०२ रनको फराकिलो अन्तरले पराजित गराउँदै सेमिफाइनलमा आफ्नो स्थान जमाउन सफल भएको हो । अर्जुन कुमालको शानदार ब्याटिङ र दिपेश कँडेलको कसिलो बलिङको सहयोगमा नेपालले सजिलो जित हात पारेको हो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको साउदी अरेबियाले भने १९.१ ओभरमा अलआउट हुनुअघि ४६ रनमात्र बनाउन सक्यो ।  

मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले एक सय ४२ रनको योगदान गरे । उनी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी पनि बनेका छन् ।

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । तालिकाको पहिलो स्थानमा रहेको नेपालले आफ्नो तीनवटै खेलमा जित हात पार्दै ६ अंक बटुल्यो । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपमा छनोट हुनेछन् । 

छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।