काठमाडौं – स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा हुने तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । चारदिने प्रतियोगिता बुधबारदेखि सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा सुरु हुँदैछ ।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष/महिला सिंगल्स र टिम, यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जानकारी गराए । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगितालाई खेल प्रेमी सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् । प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल डीएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गर्ने छन् । आयोजकका अनुसार अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुनेछ ।