काठमाडौं - साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। 

निर्धारित समयमा एक-एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा नेपाल भारतसँग ३-२ ले पराजित भएको हो।

पेनाल्टी सुटआउटमा भारतले ३ गोल गर्दा नेपालले दुई गोलमात्र गर्न सक्यो। यससँगै भारत फाइनलमा पुगेको छ। फाइनलमा भारतले पाकिस्तानसँग खेल्नेछ। आजै भएको पहिलो खेलमा पाकिस्तानले भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। 

खेलको पहिलो हाफमा भारतले गोल गर्दै अग्रता लिएको थियो। भारतका लागि साहिलले २६औं मिनेटमा गोल गरेका थिए। दोस्रो हाफमा नेपालले गोल फर्काएको थियो। ७४औं मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काएका थिए।