काठमाडौँ –  चीनमा जारी १९ औ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विश्व किर्तिमानी जित हासिल गरेको छ । पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले मंगोलियालाई २७३ विशाल रनको अन्तरले हराउदै विश्व किर्तिमानी जित हासिल गरेको हो । जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियाले १३.१ ओभरमा अलआउट हुनुअघि ४१ रन मात्र बनाउन सकेको थियो । मंगोलियाका दाबासुरेनले सर्वाधिक १० रन बनाए भने अतिरिक्त रूपमा २३ रन मात्र पायो। 

नेपाली टोलीका बलर अविनाश बोहरा, करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । सोमपाल कामी,  दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक–एक विकेट हात पारे । 

यसअघि चेक गणतन्त्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१९ को अगस्त ३० मा टर्कीलाई दुई सय ५७ रनले हराउदै विश्व किर्तीमान बनाएको थियो । चेक गणतन्त्रले बनाएको विश्व किर्तिमानलाई यसबर्ष नेपालले तोड्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो अन्तरको जितको कीर्तिमान आफ्नो नाममा गरेको हो । 

यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानको नाममा रहेको अर्को विश्व किर्तिमान पनि नेपालले तोडेको छ । टस हारी पहिले ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको थियो । यसरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाएको अफगानिस्तानको विश्व कीर्तिमान पनि नेपालले आफ्नो नाममा बनाएको हो । 

नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन्  ।

अब नेपालले अक्टोबरमा माल्दिभ्सविरुद्ध दोस्रो खेल खेल्नेछ ।