काठमाडौँ – बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू–१९ च्याम्पियनसिप–२०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज आउनेछन् । पाकिस्तान भने भोलि बुधबार आइपुग्ने एन्फाले जनाएको छ ।

च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् ।

दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा चल्नेछ । नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहने छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।  

आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

साफ यू–१९ च्याम्पियनसिप–२०२३  मा सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

गत वर्ष भारतको भुवनेश्वरमा भएको च्याम्पियनसिपमा पाकिस्तान र भुटान बाहेक ५ टिम सहभागी थिए र सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भएको थियो । यस पटक पाकिस्तान र भुटान च्याम्पियनसिपमा सहभागी भएका छन् भने श्रीलंका सहभागी भएको छैन ।

एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ । च्याम्पियनसिपका लागि बजेट साफले प्रदान गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । यस्तै प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ रु २०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ । टिकट खल्तीको एपबाट वा रङ्गशालामा भौतिक रूपमा पनि किन्न पाइने छ । खेलहरु स्पोर्ट्जवर्कजको युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रशारण हुने छ ।