काठमाडौं - नेपाली खेलाडी विशालसिंह विष्टले साउदी अरेबियाको रियादमा जारी आईडब्लुएफ विश्व भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। 

पुरुष ९६ केजी तौलसमूहमा प्रतिस्पर्धा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ र कुलमा २९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्। यसअघि स्न्याचमा १२५, क्लिन एन्ड जर्कमा १६१ र कुलमा २८३ केजीको कीर्तिमान विशालकै नाममा थियो।

त्यसैगरी, पुरुष ८१ केजी तौल समूहमा विकास भट्टले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्। 

नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिप (आईडब्लुएफ) मा १६ वर्षपछि सहभागिता जनाएको हो। आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नेपालका तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले सहभागिता जनाएका छन्। पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन्। यस्तै महिला ५५ केजीमा टिकामाया गुरुङ र ६४ केजीमा शारदा चौधरीले खेल्ने छन्।