काठमाडौं - नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ। 

शुक्रबार म्यानमारको घरेलु मैदान थुउन्ना रंगशालामा भएको खेलमा अन्जन विष्टले पेनाल्टीको सुनौलो अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा सकिएको हो।

खेलको ६३औं मिनेटमा म्यानमारका फ्यो विनले डीबक्स भित्र ह्यान्ड गरेपछी नेपालले पेनाल्टी पाएको थियो। तर अन्जनको प्रहार म्यानमारका गोलरक्षक जिन फ्योले बचाएका थिए। पेनाल्टीमा चुकेसँगै अन्जनले नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गर्ने मौकासमेत गुमाएका छन्। यो कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ। दुवैले १३ गोल गरेका छन्। अन्जनले अहिलेसम्म १२ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।

म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका दुई खेलाडीले डेब्यु गरेका थिए। नेपाली टोलीका मुख्य प्रशिक्षक अल्बर्टो एनेसले जिलेस्पीजंग कार्कीलाई पहिलो रोजाइमै मैदान पठाएका थिए। अर्का फरवार्ड हिसुब थपलियालाई भने दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गराएका थिए। ८४ औं मिनेटमा हिसुबले अन्जन विष्टलाई प्रतिस्थापन गरेका थिए। जिलेस्पी विभागीय टोली त्रिभुवन आर्मी र हिसुब जावलाखेलबाट व्यवासायिक फुटबल खेल्दै आएका छन्।  

अर्को महिना हुने लाओसविरुद्धको विश्वकप तथा एसिया कप छनोटको तयारीका लागि दुईवटा मैत्रीपूर्ण खेल खेल्न नेपाल म्यानमार पुगेको हो। दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ।