काठमाडौं - आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको सेमिफाइनल खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियो । १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रन बनाउँदै अलआउट भयो। 

नेपालका लागि कविता कुँवरले सर्वाधिक ११ रन जोडिन् भने अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाए । अन्य खेलाडी दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्नेक्रममा थाइल्यान्डकी ओनिचा कामचोम्फु र थिपाच्चा पुथावाङले समान तीन विकेट लिए भने नटाया बुचथमले दुई तथा फनिता माया र सुनिदा चतुरङ्गरत्नले समान एक विकेट लिए ।

त्यसअघि थाइल्याण्डका लागि नानपाट कोन्चारोएनकाइले सर्वाधिक ५९ रनको योगदान दिइन । उनले ६३ बलमा चार चौका प्रहार गरिन् । त्यस्तै नथाकन चान्थमले ३१ र चानिदा सुतिरुआङले अविजित ११ रन बनाए । नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए ।

जितसँगै थाइल्यान्ड प्रतियोगिताको फाइनलमा पुग्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा थाइल्यन्ड समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।