काठमाडौं - नेपाल एसिया कपमा भारतसँग दस विकेटले पराजित भएको छ। यससँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ।

श्रीलंकाको क्यान्डीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा १० बल अगावै अलआउट हुँदै २३० रन बनाएको थियो। नेपालका लागी आशिफ शेखले अर्धसतक प्रहार गरेका थिए। ९७ बल खेलेका उनले ८ चौकासहित ५८ रन बनाए। त्यस्तै सोमपाल कामीले ४८ रन बनाए। ५६ बल खेलेका उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए। ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रन बनाएर पेभेलियन फर्किँदा दीपेन्द्र सिंह ऐरीले २९ र गुल्शन झाले २३ रन बनाएर आउट भए। 

भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन-तीन विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डे र श्रदुल ठाकुरले एक-एक विकेट लिए।

वर्षाले खेल प्रभावित भएपछि डीएलएसबाट पाएको २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य भारतले बिना विकेट क्षति १७ बल अगावै पूरा गरेको छ। भारतका लागि रोहित शर्माले ७४ र शुभम गिलले ६७ रन बनाए। 

यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।