काठमाडौं - रजनी श्रेष्ठले एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्। 

काठमाडौंमा जारी ५५ औं एसियन च्याम्पियनसिपमा महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियाँलाई पछि पार्दै नेपालकी रजनीले स्वर्ण पदक जितेकी हुन्। रजनीले यसअघि माल्दिभ्समा आयोजना भएको ५३औंमा एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा रजत र कांस्य पदक जितेकी थिइन्। तेस्रो स्थानमा भियतनामकी दिन्ह किम लोन रहिन्। महिलातर्फकै १५५ सेमीसम्मको मोडल फिजिकमा तारा खाइजुले रजत पदक जितिन्। थाइल्यान्डकी किरातिया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले कांस्य पदकमा चित्त बुझाइन्।

एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको ब्यवस्थापनमा जारी च्याम्पियनसिपको १७० सेमी सम्मको पुरुष फिजिकमा राजु राईले रजत पदक पक्का गरे। उनले मालदिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कांस्य पदक जितेका थिए। थाइल्यान्डका वान्चाइ कान्जानापिमिनेले स्वर्ण र भियतनामका तरान होङ थुआनले कांस्य पदक पाए। यस्तै १७ सेमीमाथिको प्रतिस्पर्धामा रञ्जित लामाले कांस्य पदक पाए। पहिलो स्थानमा थाइल्यान्डका दाम्रोङसाक सोयश्री र मकाउका अउ मान किटले रजत पदक प्राप्त गरे।

पुरुषको ७५ केजी तौल समूहमा ललित धिमालले नेपालका लागि रजत प्राप्त गरे। भारतका राहुल चिन्डाले स्वर्ण र भारतकै जगन्नाथ खुन्तियाले कांस्य पाए। ८० केजी तौल समूहमा नेपालका कृष्णप्रसाद श्रेष्ठले कांस्य पदक पक्का गर्दा थाइल्यान्डका पतैवात अल्कावतले स्वर्ण र भारतका प्रकाश प्रधानले रजत जिते।

च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण, ६ रजत र ३ कांस्य पदक जितेको छ। नेपालका विशाल पौडेलले शारीरिक सुगठनको ७५ केजीमाथिको तौल समूह र सनम मुलगुठीले महिला स्विम सुट फिजिक खुला विधामा स्वर्ण जितेका हुन्। नेपालले अब चार विधामा प्रतिस्पर्धा गर्न बाँकी छ।