काठमाडौं - मैत्रीपूर्ण खेल खेल्न म्यानमार जान लागेका नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाई गरिएको छ । 

सोमबार ललितपुरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै नेपाली टोलिको बिदाई गरेको हो। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेलका लागी नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक भिन्सेन्जवले प्रतियोगीताका लागि नेपाल टोलीका सबै खेलाडी फिट रहेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । आगामी दिनमा हुने ठूला प्रतियोगीताका लागि मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उनको भनाइ छ ।

त्यस्तै डिफेन्डर अनन्त तामाङले म्यानमारसँग खेल्नका लागि नयाँ खेलाडीहरु पनि तयार भएको र राम्रो खेल प्रदर्शन गर्ने बताए । मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुने छ । एन्फाका अनुसार यी दुई मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत हुन लागिएको हो ।