काठमाडौं - चार देश सम्मिलित महिला टी-२० सिरिजको उपाधि नेपालले जितेको छ। 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो। नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको हो। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो।

नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गर्‍यो। मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो। एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले ५.३ ओभर खेल्दा वर्षाका कारण खेल रोकियो। त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो। इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन्। त्यसअघि काजल श्रेष्ठ डकआउट भएकी थिइन्। अत्यधिक वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि डकवर्थ लुइस पद्धतिका आधारमा नेपाललाई विजयी घोषित गरिएको हो। 

यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन्। 

बलिङतर्फ नेपालका लागि खुसी डंगोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक-एक विकेट लिइन्। फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुसी डंगोल भइन्।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो। अन्तिम खेलमा नेपाल मलेसिायासँग ६ विकेटले पराजित भएको थियो। त्यसैगरी, पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको हङकङले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो। 

महिला टी-२० सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए। यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले यो सिरिज खेलेको हो।