काठमाडौं - नेपाल चार देश सम्मिलित महिला टी-२० सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको आजको अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएपनि नेपाल फाइनलमा पुग्न सफल भएको हो। अब शनिबार हुने फाइनल खेलमा नेपाल र हङकङ भिड्ने भएका छन्।

समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार-चार अंक भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन्। तीनै टोली समूह चरणका दुई-दुई खेलमा विजयी भएका थिए। 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि आज पहिला ब्याटिङ गरेको हो। मलेसियाविरुद्धको खेलमा नेपालले जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। 

वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो। मलेसियाले ८४ रनको विजय लक्ष्य १६ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। मलेसियाका लागि अइना हसिमले अविजित ३७ तथा इजाती इम्माइलले २१ रन बनाइन्। बलिङतर्फ नेपालका लागि पूजा महतो, रुबिना क्षेत्री बेलबासे र सीता राना मगरले एक एक विकेट लिइन्। 

यसअघि नेपालका लागि ब्याटिङ गर्दै कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन्। अरु खेलाडीले सम्झन लायक ब्याटिङ गर्न सकेनन्।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो। त्यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो।