काठमाडौं - युनिलिभर नेपालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रायोजन गरेको छ। 

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलन मुखर्जीले प्रायोजन सम्बन्धि सम्झौतापत्रमा हष्ताक्षर गरेका छन्। सम्झौता अनुसार महिला फुटबलको विकासका लागि युनिलिभरले एन्फालाई २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। यो सम्झौता हाललाई एक वर्षको रहेको जनाइएको छ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बूले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला फुटबलले उत्कृष्ट प्रदर्शन गर्दै आएको बताउँदै यो सम्झौता महिला फुटबलको विकासमा महत्वपूर्ण सावित हुने धारणा राखे। एन्फा अध्यक्ष नेम्वाङले सहयोगका लागि युनिलिभरलाई धन्यवाद दिँदै नेपालको महिला फुटबल टोलीले सन् २०३१ सम्ममा विश्वकप खेल्ने विश्वास व्यक्त गर्नुका साथै महिला फुटबलको विकासका लागि विभिन्न कार्यक्रमसहित अगाडि बढिरहेको बताए। 

युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले नेपालको महिला फुटबलको विकासमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले महिला फुटबलको स्तरलाई माथि उठाउन युनिलिभर र एन्फाबीचको सहकार्य महत्वपूर्ण हुने र आगामी दिनमा पनि यो सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले पछिल्लो समय महिला फुटबलले पनि पुरुष फुटबल सरह प्राथमिकता पाएकोमा खुसी व्यक्त गर्दै महिला फुटबल खेलाडीको अभियानमा सहयोग पुर्‍याएकोमा युनिलिभरलाई धन्यवाद दिइन्।