काठमाडौं - एसीसी मेन्स इमर्जिङ कपको दोस्रो खेलमा नेपाल 'भारत ए'सँग ९ विकेटले पराजित भएको छ। 

श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदास अन्तर्राष्ट्रीय मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनको योगफल बनायो ।

भारतले १६८ रनको लक्ष्य २२.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो। भारतका लागि अभिषेक शर्माले सर्वाधिक ८७ रन बनाए भने साई सुदर्शनले अविजित ५८ रन र ध्रुव जुरेलले अविजित २१ रन बनाए।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए भने गुल्सन झाले ३८ रन बनाए। देव खनाल १५ र सोमपाल कामी १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

भारतका लागि निशान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए भने राजवर्द्धन हङ्गरगेकरले ३, हर्षित रानाले २ र मानव सुथारले १ विकेट लिए । कप्तान रोहित पौडेलले नेपालको लागी भारतको एक मात्र विकेट लिए । 

यसअघि पाकिस्तानसँग ४ विकेटले पराजित भएको नेपालले समूह चरणको अन्तिम खेल युएईसँग खेल्नेछ।